स्वागत छ

मन्त्रालयको परिचय

वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, प्रदेश नं. १, विराटनगरको स्थापना मिति २०७८/१०/१६ गते भएको हो । यस मन्त्रालयको साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (स्थापित मिति २०७४/१०/२९) विभाजन भइ  बनेको हो । वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम देशलाई संघीय ढाँचामा लगेर पुन:संरचना गर्ने उद्देश्यका साथ ७ वटा प्रदेशहरु स्थापना गरिएको छ । यसमध्ये पूर्वी नेपालको १४ जिल्ला समेटिएको यस प्रदेशमा २०७८ माघ १६ गते प्रदेश राजपत्रमा प्रकाशित प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ अनुसार १३ वटा मन्त्रालयहरु स्थापना भएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रको रुपमा वन, वन्यजन्तु, वन पैदावर, भू-संरक्षण, जलवायु परिवर्तन, पर्यावरण र जैविक विविधताका विषयक्षेत्रका २७ वटा कार्यविवरणहरु रहेका छन् ।  यस मन्त्रालयको मातहतमा प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालयहरु रहेका छन् । यसले नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको केचनाकवल देखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मका वन जंगल, वन्यजन्तु, वनस्पति, जडीबुटी, भू-संरक्षण, प्राकृतिक पारिस्थितिक प्रणाली, जैविक विविधताजस्ता विषयवस्तुको योजना वनाउने, लागू गर्ने र अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य गर्छ ।

यस मन्त्रालयले वनजन्य काठ लगाएतका वन पैदावरहरुको दीगो आपूर्ति र व्यवस्थापनका लागि विरुवा उत्पादन, वृक्षारोपण, पुनःरोपण, गोडमेल, बारबेरा, थिनिङ प्रुनिङ लगाएतको कृयाकलापहरु संचालन गर्दै आएको छ । यसका साथै जडीबुटीको खेती विस्तार गर्ने, संरक्षण गर्ने, संकलन तथा निकाशी नियन्त्रण गर्ने तथा वन्यजन्तुको चोरीतस्करी नियन्त्रण गर्ने कार्य मातहतका निकायहरुबाट गराउदै आएको छ ।

नेपालको संविधानले पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्ने नीति अङ्गीकार गरेको छ । दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसका असरसँग जुध्न तत्काल कार्य गर्न आवश्यक रहेको कुरा निर्दिष्ट गरेको छ । विश्वव्यापी जलवायु परिवर्तनको असरले गर्दा अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो लगायतका प्रकोपको बढ्दो असर भोग्नु परेको छ । जल तथा मौसम विज्ञान विभागको अध्ययनले गर्मी हुने दिनको सङ्ख्यामा वृद्धि, जाडो हुने दिनको सङ्ख्यामा कमी र तापको मात्रामा केही परिवर्तन आएको देखाएको छ । वातावरणीय सन्तुलन कायम राख्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै अनुकूलन अभिवृद्धि गर्न हरित विकासको अवधारणालाई अवलम्बन गर्नु आवश्यक छ । यसका लागि मन्त्रालयले वातावरणको स्वच्छता कायम गर्न तथा पूर्वाधार निर्माणमा वातावरणीय सन्तुलन कायम गर्नका लागि प्रस्तावित विकास आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदनहरु पुनरावलोकन गरी स्वीकृति प्रदान गर्ने र सोको अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य गर्दै आएको छ । यसका साथै वातावरणीय सरसफाईका लागि जनचेतना अभिवृद्दी गर्ने विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस मन्त्रालयले भू तथा जलाधार व्यवस्थापनको क्षेत्रमा बाढी पहिरो नियन्त्रण, गल्छी कटान रोकथाम, पानी मुहान संरक्षण, सडक किनारा संरक्षण लगाएतका विभिन्न कृयाकलापहरु आफ्नो मातहतका निकायहरुबाट सम्पादन गर्दै आएको छ ।

 

 

 

 

 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. प्रदेश नं. १, नेपाल.
Under Construction